‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गरौँ’


काठमाडाैँ । घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीवार र शुक्रवार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले घरजग्गा व्यवसायलाई उत्पादनमुलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवद्र्धन गर्न नसके वागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताए । उनले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताए । 

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरु हेटौँडा पुगेको बताए । उनले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे ।उनले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याए । 

हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।