अटोमोबाइल व्यवसाय सुधारका लागि नाडाको सरकारलाई आग्रह


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले खस्कँदै गएको अटोमोबाइल व्यवसाय सुधार गर्न सरकारलाई ध्यान दिन आग्रह गरेको छ। नाडाले हालै सरकारले उठाएका केही कदमलाई सकारात्मक भन्दै अन्य थप सुधारका लागि २२ बुँदे सुझाव अर्थ मन्त्रालय, ४ बुँदे सुझाव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र ६ बुँदे सुझाव नेपाल राष्ट्र बैंकमा प्रस्तुत गरेको जानकारी दिएको छ।

नाडाले व्यवसायमैत्री वातावरण निर्माण गर्दै अटोमोबाइल क्षेत्रमा सुधार ल्याउन सरकारलाई पटक–पटक अनुरोध गर्दै आएको छ। निजी क्षेत्रको दशकौँदेखिको मागअनुसार सरकारले कालोबजार नियन्त्रण ऐन अन्तर्गत २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने प्रावधान हटाएको निर्णयलाई नाडाले स्वागतयोग्य कदमका रूपमा लिएको छ। यसले उदार अर्थतन्त्रको मर्मलाई समेटेको नाडाको भनाइ छ।

हाल नेपाल, भारत, बंगलादेश, र भुटानबिच खुला यातायात प्रणाली सञ्चालनको तयारी भइरहेका बेला नाडाले नेपाली अटोमोबाइल व्यवसायीहरूका लागि यसले निम्त्याउन सक्ने चुनौतीहरूबारे सरकारलाई सचेत गराएको छ। नेपालमा सवारी साधन उत्पादन नहुने, भारतबाट आयात गरिने सवारी साधनमा महशुल अत्यधिक हुने, र तुलनात्मक रूपमा सवारी साधन महँगो हुने कारणले यस्तो प्रणालीले नेपाली व्यवसायीहरूको व्यवसाय नै धरापमा पर्ने नाडाको तर्क छ।

नाडाले भारत लगायत अन्य मुलुकका नम्बर प्लेट भएका सवारी साधनको प्रयोगले नेपाली व्यवसायीहरूलाई गम्भीर असर पर्ने भएकाले सरकारले निर्णय लिँदा यी पक्षहरूमा गहन विचार गर्नुपर्नेमा जोड दिएको छ। यस विषयमा सरकारले जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने भन्दै नाडाले सरकारलाई सुझाएको छ।