काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनाको लागि राष्ट्र बैंकले कानून निर्माण गरिरहेको बताएका छन् ।
आइतबार इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बैंकिङ क्षेत्रका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुमा देखिएको रिकभरीको समस्या समाधानको लागि पनि एसेट्स म्यानेजमेण्ट कम्पनी आवश्यक भएको भन्दै त्यसको लागि कानून आवश्यक रहेको बताएका हुन् ।
उनले बैंकको रिकभरी पनि अर्थतन्त्र स्लो डाउनसँग जोडिएको बताए । एसेट्स म्यानेजमेण्ट कम्पनी स्थापनासँगै बैंकहरुलाई खराब कर्जा व्यवस्थापनमा सहजता आउने उनले उल्लेख गरे । पछिल्लो समय बैंकहरु रिकभरीमा देखिएको समस्या अर्थतन्त्रको स्लो डाउन कम हुनासाथ रिकभरीमा सुुधार हुने अपेक्षा रहेको उनकाे भनाइ छ ।
बैंकहरुको खराब कर्जा सँधै माथि नजाने भन्दै क्रमशः सुधार हुँदै जाने उनकाे धारणा छ । बैंकिङ क्षेत्र रिकभरी भएसँगै बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्ने उनले उल्लेख गरे । उनले राष्ट्र बैंकको नियमन र नीतिको कारण बैंकहरुलाई सानोतिनो धक्काले नछुने अवस्था रहेको बताए ।
नेपालको बैंकिङ क्षेत्र बलियो रहेको भन्दै ग्राहकलाई बैंक प्रतिको विश्वास बढाउनको लागि बैंकहरुले काउन्सेलिङ, सहुलियत दिने काम गर्न आवश्यक रहेको उनले बताए । प्राविधिक रुपमा उद्योगी व्यवसायीहरुबाट कमजोरी हुने बित्तिकै बैंकहरुले कालोसूचिमा राख्न नहुने उनकाे भनाइ छ । उनले बैंकहरुको पनि ग्राहक वा उद्योगी बचाउनुपर्ने दायित्व रहेको बताए । बैंकहरुले आफ्नो काम कर्जा दिने मात्रै भनेर बुझ्न नहुने उनले उल्लेख गरे । पछिल्लो मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको उनले जानकारी दिए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले गत वर्षको तुलनामा बैंकिङ उद्योग सुरक्षित रहेको उनले उल्लेख गरे । उनले बैंकिङ क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर ५ प्रतिशत देखिएको बताए । अहिले बैंकहरुको सिडी रेसियाे ७९ प्रतिशतमा रहेको उनकाे भनाइ छ ।
समग्रमा हेर्दा बैकिङ उद्योग सुरक्षित रहेको देखिएको उनले बताए । बैंकिङ क्षेत्र सुरक्षित देखिए पनि बैंकहरुमा खराब कर्जा ४.५ प्रतिशत रहेको उनकाे भनाइ छ । केही बैंकहरुको ५ प्रतिशत भन्दा माथि पुगेपनि चिन्ता लिनुपर्ने अवस्था नभएको उनले उल्लेख गरे । अध्यक्ष कोईरालाले निष्क्रिय कर्जा व्यवस्थापनको लागि बैंकहरुले सम्भावित कर्जा नोक्शानीबापत प्रोभिजन गर्ने क्षमता भएसम्म बैंकिङ उद्योग बलियो हुने बताए ।
उनले दक्षिण एशियाका मुलुकहरुसँगको तुलना गर्दा पनि नेपालको बैंकिङ क्षेत्रको अवस्था राम्रो रहेको बताए । उनले राष्ट्र बैंकले ल्याएको नीतिका कारण बैंकहरु सबल रुपमा रहेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्