खाद्यका लागि कृषि अभियानद्वारा प्रचण्डसँग कृषि तथा खाद्य मुद्दामा छलफल


काठमाडौँ । खाद्यका लागि कृषि अभियानले आफ्नो नियमित कार्यक्रम अनुसार हिजाे (बुधबार) पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कृषि तथा खाद्य सुरक्षासम्बन्धी समसामयिक विषयमा छलफल गरेको छ।

छलफलका क्रममा मुख्य रूपमा युवा पलायन, उजाडिँदै गएका बस्ती, बाँझो जमिन, खानामा विषादीको प्रभाव र जनस्वास्थ्यमा परेको संकट, जैविक विविधता तथा जलवायु संकट, साथै नेपालले अपनाएको कृत्रिम रसायनमा आधारित उत्पादन प्रणालीलाई प्राकृतिक लयमा फर्काउने आवश्यकताजस्ता विषय उठाइएको थियो। साथै, स्थानीय विशेषतामा आधारित पोषणयुक्त खाद्यमा आत्मनिर्भरता, तुलनात्मक लाभका बालीबस्तुहरूको व्यावसायिकता र रोजगारी वृद्धि गर्न एकीकृत राजनीतिक दृष्टिकोण आवश्यक रहेको औंल्याइएको थियो।

छलफलमा हाल नेपालमा कृषि नीतिहरूको निर्माण तथा संशोधन प्रक्रियालाई सन्दर्भमा राख्दै राष्ट्रिय सहमति सहितको एकीकृत कृषि नीति आवश्यक रहेको सुझाव दिइएको अभियानका अध्यक्ष उद्धव अधिकारीले बताए । उत्पादक किसानको खाद्य सम्प्रभुता जोखिममा परिरहेको सन्दर्भमा खाद्य असुरक्षाले राष्ट्रिय सुरक्षामा समेत असर पार्न सक्ने भन्दै समयमै ध्यान दिन आग्रह गरिएको थियो।

अध्यक्ष दाहालले छलफलमा उठाइएका मुद्दाहरूमा सहमति जनाउँदै आफूले समेत यी विषयहरू उठाउने प्रतिबद्धता जनाए। साथै, कृषि उद्यम तथा कृषिजन्य कच्चापदार्थमा आधारित उद्योगहरूले कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सक्ने भएकाले त्यसलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, स्थानीय तहमा कृषि तथा वातावरण सम्बन्धी विषयमा आफ्नो पार्टीले काम गरिरहेको उल्लेख गरे। उनले उक्त कार्यमा खाद्यका लागि कृषि अभियानको सहकार्य आवश्यक रहेको धारणा समेत राखेका थिए ।

छलफलमा प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, अभियन्ताहरू कृष्णप्रसाद पौडेल र सुजाता तामाङको सहभागिता रहेको थियो।