रवि लामिछानेले सहकारी रकम ठगे, कानुनी सजाय हुनुपर्छ:शेखर कोईराला


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी रकम ठगी गरेको आरोप लगाउँदै कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै नेता कोईरालाले सभापति लामिछानेले सहकारीको रकम ठगेको विषयमा कुनै शंका नरहेको बताए ।

उनले भने, “ठगेको छ उसले। उसले सजाय पाउनुपर्छ। तर त्यसको एउटा प्रक्रिया हुन्छ। राति उठाएर पोखरा लग्नु भनेको गलत प्रक्रिया हो ।”

कोइरालाले सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकारलाई पन्छिन नमिल्ने पनि बताए। उनले सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकार उल्लंघन गरेको भन्दै प्रश्न उठाए । “सुरक्षा चुनौती थियो भने पोखरा किन लगियो? चितवनमा सुरक्षा दिन सकिन्थ्यो,” उनले भने ।

नेता कोइरालाले नेपाली कांग्रेस कमजोर बन्दै गएको दाबी गर्दै पार्टीको अधिवेशन टुंगो नलागेकोप्रति असन्तोष व्यक्त गरे। उनले अधिवेशन समयमै गराउन सामाजिक सञ्जालमार्फत दबाब दिन आफ्ना समर्थकहरूलाई आग्रह गरे।

उनले भने, “नेपाली कांग्रेस कमजोर भएको छ। अधिवेशन कहिले हुने टुंगो छैन। २०८४ को चुनावपछि गर्ने भनिएको छ। तपाईंहरूले सामाजिक सञ्जालमा लेखेर दबाब दिनुपर्छ ।”

कोइरालाले राज्य नै ‘एमालेकरण’ भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए। उनले सरकारलाई सचेत गराउन कांग्रेस नेताहरूले खबरदारी गर्नुपर्ने धारणा राखे ।

“राज्य नै एमालेकरण भइरहेको छ कि भन्ने देखिरहेको छु। मन्त्रीहरूले सहकार्य गर्न सक्छन्, तर खबरदारी गरिरहन आवश्यक छ,” उनले जोड दिए ।

डा. शेखर कोईरालाले रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा कानुनी कारबाही हुनुपर्ने बताए पनि सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । साथै, कांग्रेसको आन्तरिक व्यवस्थापन सुधार्न अधिवेशनलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

twitter sharing button