काठमाडौँ । फागुन १२ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवमा सो कुरा बताएका हुन् । चिनियाँ टोलीलाई स्वागत गर्दै मन्त्री पाण्डेले सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले यस वर्ष ७० औँ वर्ष पूरा गर्न लागेकोमा प्रति खुसी व्यक्त गरे ।
मन्त्री पाण्डेले भने,”यहाँहरूको नेपाल भ्रमणबाट दुई देशको आपसी हितका साथै दुई देशका मन्त्रालयबीचको सहयोगको आदानप्रदान हुने विश्वास मैले लिएको छु ।”मन्त्री पाण्डेले नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको र आगामी दिनहरूमा चीनबाट अझ धेरै पर्यटकको आगमनले नेपाल चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुनेमा पनि आफू आशावादी भएको बताए ।
त्यस्तै पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्सले गोन्जाव र नेपाल सिधा उडानका लागि प्रयास गरिरहेको र हिमालय एयरलाइन्सले पोखरादेखि ल्हासासम्मको उडान गर्ने तयारी गरीरहेको बताए । उनले नेपालको भाषा,संस्कृति,कलाका बारेमा अध्ययन गर्नका लागि समेत चिनियाँहरुलाई आव्हान समेत गरे । त्यसैगरी भेटको अवसरमा चिनियाँ मन्त्री पेन यूले यस अघिका दुई देशका राष्ट्राध्यक्षबीच भएको सम्झौतालाई कार्यान्वयन गर्दै जानु पर्नेमा जोड दिए ।नेपाल गौतम बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै उनले चीनमा १० करोड बढी बुद्ध धर्म मान्नेरहेको उल्लेख गरे ।
उनले बुद्ध धर्मलाई आदर्श मानेर अघि बढ्न समेत अनुरोध गरे । उनले आफ्नो मन्त्रालय मातहतमा ३० वटा विश्वविद्यालय रहेको उल्लेख गर्दै एउटा विश्व विद्यालयलाई नेपालको र्सास्कृति महोत्सवका बारेमा बुझ्न पठाउने समेत प्रतिवद्धा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्