काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ ।
यसअघि जारी गरिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थालाई प्रतिस्थापन गरेको हो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी लगायत सम्बद्ध कसुरसँग सम्बन्धित वित्तीय अपराध निवारण गर्ने सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ मा तोकिएका व्यवस्थाहरुका अतिरिक्त थप व्यवस्थाहरु गर्न मन्त्रिपरिषदको निर्णयबमोजिम राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
यी संस्थाहरुले ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नुपर्छ । ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा संस्थाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्नेछ ।
नियमावलीको नियम ३ मा आकस्मिक कारोबारमा ग्राहकको पहिचान गर्नुपर्ने उल्लेख गरिएको छ । जसमा एक लाख रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा भन्दा बढीको आकस्मिक कारोबार गर्दा ग्राहकको पहिचान गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, यी संस्थाहरुले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गर्नुपर्ने छ । पदमा रहेका, पदमा नरहेका, छिमेकी वा नजिकका मुलुक विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति भनेर वर्गीकरण गर्नुपर्ने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था तथा सोपश्चात् मिति २०८१ माघ मसान्तसम्म जारी भएका सम्बन्धित सम्पूर्ण परिपत्रहरु खारेज गरेको छ ।
प्रतिक्रिया दिनुहोस्