काठमाडौँ । काठमाडौँको थापाथली क्याम्पस २०७७ ब्याच (एबी सेसन, सिभिल विभाग) का विद्यार्थीहरूको आयोजनामा ‘नेशन वाइड स्प्रिङ म्याराथन’ आगामी फागुन १७ गते काठमाडौँमा हुने भएको छ ।
बिहान ७ बजे थापाथली क्याम्पसबाट सुरू हुने यो म्याराथन १० किलोमिटर दूरीको हुनेछ। आयोजक समूहका अनुसार स्वास्थ्य र फिटनेस प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।
म्याराथनको मार्ग थापाथली क्याम्पसबाट सुरु भई थापाथली चोक, त्रिपुरेश्वर (कान्तिपथ), सिभिल मल, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर मण्डला, बानेश्वर, तीनकुने चोक हुँदै पुनः माइतीघरबाट थापाथली क्याम्पसमा पुगेर समाप्त हुनेछ। पुरुष र महिलाका लागि छुट्टाछुट्टै विजेता घोषणा गरिने छ, जसअनुसार पहिलो हुनेले सात हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेहरूलाई क्रमशः पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, विजेताहरूलाई विशेष गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ।
प्रतियोगितामा अधिकतम एक हजार जना धावकले मात्र सहभागिता जनाउन सक्नेछन्। इच्छुक धावकहरूले https://bit.ly/spring-marathon-2025 लिंकमार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ। म्याराथनमा भाग लिने सम्पूर्ण सहभागीलाई आयोजकले टी-शर्ट उपलब्ध गराउनेछ भने विजेताहरूलाई प्रमाणपत्र र पदक प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्