काठमाडौँ । काठमाडौँको थापाथली क्याम्पस २०७७ ब्याच (एबी सेसन, सिभिल इन्जिनियरिङ विभाग) का विद्यार्थीहरूले आयोजना गरेको ‘नेशन वाइड स्प्रिङ म्याराथन’ शनिबार सम्पन्न भएको छ।
स्वास्थ्य र शारीरिक तन्दुरुस्ती प्रवर्द्धनका लागि आयोजना गरिएको १० किलोमिटर दूरीको यो म्याराथन बिहान ७ बजे थापाथली क्याम्पसबाट सुरु भई थापाथली चोक, त्रिपुरेश्वर (कान्तिपथ), सिभिल मल, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर मण्डला, बानेश्वर, तीनकुने चोक हुँदै पुनः माइतीघरबाट थापाथली क्याम्पसमा पुगेर सम्पन्न भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ नगेन्द्र अहीरले पहिलो स्थान हासिल गरेका थिए भने नवराज बानियाँ दोस्रो र अशोक बराम तेस्रो भएका थिए। त्यस्तै, महिलातर्फ सीता गुरुङ पहिलो, गीता महर्जन दोस्रो र अञ्जुली गुरुङ तेस्रो स्थानमा रहेका थिए ।
विजेताहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ। साथै, विशेष उपहारको साथै ए-फिट स्टुडियो को तर्फबाट ३ महिनाको निःशुल्क जिम सदस्यता प्रदान गरिएको छ।
यो प्रतियोगिता उस्ताद एकेडेमी को मुख्य प्रायोजन मा सम्पन्न भएको थियो। ए-फिट स्टुडियो तन्दुरुस्ती साझेदार, टि-शर्ट नेपाल पहिरन साझेदार, फ्रन्टलाइन अस्पताल स्वास्थ्य साझेदार, टक्सार सञ्चार साझेदार, यू-थिङ्क क्रेजी शिक्षा साझेदार, पोशिलो पोषण साझेदार, र एका कोम्बुचा उपहार साझेदार रहेका थिए।
यसबाहेक, प्रतियोगिताबाट संकलित रकम साइफ नेपाल मार्फत एक अनाथालयलाई सहयोगस्वरूप प्रदान गरिने भएको छ। सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारमा इन्जिनियरको व्यथा अरूलाई के थाहा ले महत्वपूर्ण योगदान दिएको थियो।
कार्यक्रमको सफल व्यवस्थापनमा विभिन्न संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको थियो। पुल्चोक नृत्य क्लब, नेपाल तराई विद्यार्थी संघ (एनटीबीएस) थापाथली, नेपाल तराई विद्यार्थी नवगर्जन संघ (एनटीबीएनएस) पुल्चोक, र इन्जिनियरिङ बुक नेपाल (ईबीएन) थापाथली ले कार्यक्रमलाई सफल बनाउन योगदान गरेका थिए।
आयोजक समूहका अनुसार प्रतियोगिताले युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरेको छ।
प्रतिक्रिया दिनुहोस्