गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार बढि यात्रुको आवागमन


काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो ।

जसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको महाप्रबन्धक तिवारीले बताए।

उनका अनुसार नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको छ ।

त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान हुँदा विमानस्थल चलायमान बनेको महाप्रबन्धक तिवारीको भनाई छ ।