पाथीभरामा ‘नाे केबलकार समूह’काे काठमाडौंमा प्रर्दशन (फाेटाे फिचर)



काठमाडौं । पाथीभरामा केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको आन्दोलरत पक्षले आज काठमाडौँमा प्रर्दशन गरेको छ ।

प्रर्दशनलाई काठमाडौँमा रहेका विभिन्न संघसंस्थाले समेत समर्थन गरेको छन् ।

पाथीभरामा केबलकार निर्माण नगर्न माग गर्दै मुक्कुमलुङ संयुक्त संघर्ष समिति,मुक्कुमलुङ ताङसेप चुम्भो, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति र मुक्कुमलुङ संरक्षण अन्तरदेशीय संघर्ष समितिले आन्दोलन गर्दै आएका छन् ।

केबलकार निर्माणको विरोधमा समर्थन जनाउन काठमाडौँमा समेत प्रर्दशन गरिएको हो ।

काठमाडौँको माइतिघर मण्डलामा ‘मुकुम्लुङ रक्षार्थ, बृहत जनप्रर्दशन’ गर्दै आन्दोलनरत पक्षले ताम्लेजुङ्मा आन्दोलनका क्रममा झडप भएका घाइतेको समेत ब्यानरमा फोटो प्रर्दशनी गरेकाे छ ।

संघीय सरकारले केबलकार निर्माण गर्दा प्रकृया मिचेको,मुक्कुमलुङमा केबुलकार निर्माणको विषयमा स्थानीयस्तरमा सर्बपक्षीय छलफल नभएको संघर्षरत पक्षको आरोप छ ।

खासगरी लिम्बू समुदायको मुन्धुमविद, सँस्कृतिविदसँग छलफल नगरिएको भन्दै आन्दोलन भइरहेको छ । सरकारसँग वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन सार्वजनिक नगरिएको, स्थानीय आदिवासीहरूसँग छलफल नगरेर सरकारले निर्माण अनुमति दिएकोले सरकारले नै अनुमति रद्ध वा खारेज गर्नुपर्नेमा आन्दोलनरत पक्षले जोड दिँदै आएका छन् ।

प्रर्दशनकारीले राज्य र केबलकार निर्माताले जर्बजस्ति गरे ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनीहरूले पाथीभरा संरक्षणका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।