भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छः राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमालय पर्वत श्रृंखलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका हुन् ।

उनले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे । विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको उनले बताए ।

उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको उल्लेख गरे । विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाई घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको उनले बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पु¥याउन जरुरी रहेको उनकाे भनाइ छ ।