चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेका छौंः वन मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गरे ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् । उनले वनसँग सम्बन्धीत क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गरे ।

मन्त्री ठकुरीले राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतीहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्नेगरी काम गरिरहेको बताए ।

उनले मानव वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि जंगली जनावरहरुको लागि वनभित्रै बस्नेगरी काम गरिरहेको समेत उल्लेख गरे । 

उनले भने, “वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षभित्रमा ४० हजार रोजगारी सिर्जना हुने र यसबाट युवाहरुको विदेश पलायन हुने रोक्ने अनुमान गरिएको छ । अर्को, राष्ट्रपति चुरे विकास कार्यक्रम, जलवायु उत्थानशील चुरे कार्यक्रम र जलाधारमा आधारित जिविकोपार्जन आयोजना तथा गण्डकी जलाधार आयोजनामार्फत भिरालो जमिनमा फलफुल लगायतका खेतिहरु गरेर बाँझो जमिनमा उत्पादन प्रवद्र्धन गर्ने काम भइरहेको छ । यसैगरी जलवायु परिवर्तनको कारण निम्त्याउने विपद् न्युनिकरणका लागि नदि तथा खोला किनारहरुमा स्तरीकरण, व्यवस्थापन लगायतका कामहरु समेत भइरहेका छन्  । विप्दबाट नेपालमा ठुलो धनजनको क्षति गरेको विषयमा हामी सबै जानकार नै छौं । यसलाई न्युनिकरण गर्ने र थप व्यवस्थापन तथा व्यवस्थित गर्नको लागि नेपाल सरकारले थप कार्यक्रमहरु ल्याउने जानकारी गराउँदै संसदहरुको सुझावको आधारमा वन मन्त्रालयका तर्फबाट यस्ता कुराहरु गर्दै जाने म जानकारी समेत गराउन चाहन्छु ।”

प्राकृतिक विपद् न्युनिकरण तथा वन व्यवस्थापनको क्षेत्र मन्त्रालयको प्राथमिकतामा रहेको उनको भनाइ छ ।