काठमाडाैँ । भाटभटेनी सुपरमार्केटले सिन्धुपाल्चोकमा समातिएको ‘अवैध भेप’ प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रतिनिधिसभामा बिहीबार बसेको बैठकमा सांसदद्वय गंगा कार्की र मनिष झाले भाटभटेनीलाई जोडेर व्यक्त गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले एक विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा सांसदहरूले सार्वजनिक रूपमा गरेको दाबीमा कुनै तथ्य नभएको उल्लेख गर्दै यस प्रकारका आधारहीन आरोपहरूले संस्थाको छवि धुमिल पार्न खोजिएको आरोप लगाइएको छ। भाटभटेनीले तातोपानी भन्सारबाट शिलबन्दी गरी पास गरिएका सामग्रीबाहेक चालक तथा सहचालकको व्यक्तिगत गतिविधिमा आयातकर्ताको कुनै भूमिका नहुने स्पष्ट पारेको छ।
साथै समातिएको अवैध भेप ट्रक चालकले आफ्नो सिटमुनी लुकाएर ल्याएको खुल्न आएको भन्दै भाटभटेनीको नाम जोडेर गरिएको टिप्पणीलाई खेदजनक भनिएको छ। संस्थाले तथ्यमा आधारित रहेर मात्र धारणा सार्वजनिक गर्न सबै पक्षलाई आग्रह गर्दै भ्रामक सूचनामा विश्वास नगर्न आम नागरिकलाई अपिल गरेको छ।
भाटभटेनीले मुलुककै अग्रणी करदाता संस्था भएको र सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दान तथा सामाजिक कार्यमा अर्बौं रुपैयाँ खर्च गर्दै आइरहेको उल्लेख गरेको छ। संस्थाले आफ्नो छवि बिगार्ने उद्देश्यले गलत प्रचार गरिएको भन्दै त्यस्ता प्रयास सफल नहुने विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) सँग संस्थालाई जोडेर गरिएको टिप्पणीको पनि खण्डन गर्दै भाटभटेनीले यस्ता निराधार आरोपहरू राजनीतिक स्वार्थका लागि गरिएको ठहर गरेको छ। संस्थाले पक्राउ परेका चालकलाई कानूनअनुसार अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्दै जिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक गर्न सबै पक्षलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्