सरकारले १५ वर्ष मुनिका आर्थिक रूपमा विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने


काठमाडाैँ । सरकारले १५ वर्ष मुनिका आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएकाे छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताए ।

उनले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको जानकारी दिए । कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको बताए ।

नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा. बुढाथोकीको भनाइ छ । उनले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवं पुनःस्थापनका लागि नीति तथा कार्ययोजना तयार गर्न प्राध्यापक डा.जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको बताए ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्त्री जानकारी लिन, स्वास्थ्य सम्बन्धी सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर दिनसक्ने बताए ।