शिक्षक आन्दोलनले बालबालिकाको शिक्षा अधिकारमा असर, वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगको आग्रह


काठमाडाैँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनको कारण बालबालिकाको शिक्षा अधिकार प्रभावित भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

नेपाल शिक्षक महासंघले विगतमा नेपाल सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने, शिक्षा ऐनलाई समयानुकूल बनाउनु पर्ने, तथा शिक्षा नीतिलाई उत्पादनमुखी बनाउनुपर्ने माग राख्दै राजधानीमा १४ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका कारण बालबालिकाको पठनपाठन अवरुद्ध हुनुको साथै, एसईईको नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ। साथै आयोगले माइतीघर क्षेत्रको स्थलगत अनुगमन गर्दा १४दिनदेखि सामान्य आवागमनमा अवरोध सिर्जना भएको उल्लेख गरेको छ।

आयोगले शिक्षकहरूले आफ्नो वृत्तिविकास र संस्थागत हकहितका लागि राखेका मागहरु तथा शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई मानव अधिकारको मूल्य मान्यताको अनुरूप ठहर गरेको छ। तर यस्ता मागहरू सम्बोधन गर्न आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको आयोगको ठहर छ।

शिक्षा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर राख्दै आयोगले सम्बन्धित सबै पक्षहरुलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै, विद्यालय शिक्षासम्बन्धी कानुन निर्माणका क्रममा शिक्षक, शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने आवश्यकता औँल्याएको छ।