काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओे) को कार्यभार आजदेखि गोविन्द घिमिरेले सम्हालेका छन् ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेका घिमिरे विगत १६ बर्ष देखि एनएमबि बैंकमा संलग्न छन् । घिमिरे यसअघि एनएमबिकै नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा सिइओ घिमिरेको विशेष योगदान रहेको बैँकले जनाएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ । उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।”
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै भने,“ मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ ।
डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।”
नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका सुदेश उपाध्यायले पनि आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्