प्राकृतिक विपदको जोखिम न्युनीकरणका लागि सरकार क्रियाशिल छ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार सबैखालका प्राकृतिक विपदको जोखिमलाई न्यूनीकरण गर्न क्रियाशील रहेको बताएका छन् । साथै खोज, उद्धार तथा निर्माण र पुनर्निर्माणका लागि पनि प्रतिबद्ध रहेको उनले बताए ।

२०७२ सालको गोरखा भूकम्पको स्मृतिमा ललितपुर महानगरपालिकाले आज बिहान पाटन दरबार परिसरमा आयोजित कार्यक्रममा मन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपदबाट जोगिनका लागि र जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै मन्त्री लेखकले जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर बस्न र क्षतिबाट जोगिने तयारी गर्न जरुरी रहेको बताए ।

प्रकृति नियमले चल्छ तर हामी नियतले चल्न खोज्यौं भने क्षतिको जोखिम धेरै हुने भन्दै उनले प्रकृतिमैत्री गतिविधि हुनुपर्नेमा जोड दिए ।