काठमाडौँ। नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सम्पन्न गरेको छ। वैशाख २४ र २५ गते आयोजित तालिममा नाडाका १२ सदस्य कम्पनीहरूमार्फत २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
कार्यस्थलमा सुरक्षित वातावरण निर्माण र श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले आयोजित तालिममा जोखिम व्यवस्थापन, रोकथाम रणनीति तथा अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिको विकास सम्बन्धी विषयमा जानकारी दिइएको थियो। नेपालका ओ.एच.एस.सी. विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण प्रदान गरेका थिए।
नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यसप्रकारको तालिम पहिलोपटक आयोजना गरेको हो। यद्यपि, दुई वर्ष अघिदेखि नै नाडा र इन्स्योरले अटोमोबाइल क्षेत्रमा आवश्यक विविध तालिम सञ्चालन गर्दै आएका छन्। नाडाका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता तालिमहरू आयोजना गरिंदै आएका छन्।
कार्यक्रमको समापन समारोहमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। उक्त समारोहमा नाडाका केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशीको समेत उपस्थिति रहेको थियो। तालिम कार्यक्रमको संयोजन र व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्