जलस्राेत विधेयकले लाभ, हानीका विषयमा बढी जिम्मेवार बनाउने काम गर्छः मन्त्री खड्का


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विगतका कानूनलाई परिमार्जन गर्दै समयानुकुल बनाउनुपर्ने महशुस भएकाले जलस्राेत विधेयक, २०८१ आएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलश्रोत विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले भएका ऐन कानूनले जलको न्यायोचित बाँडफाँड, संरक्षण गर्नुपर्ने स्थान, जलको क्षमतालगायतका कुरा नसमेटेको अवस्थामा समयसापेक्षित ऐन बनाइएको जानकारी दिएका हुन् ।

उनले विधेयक सम्पूर्ण जलको विषय, उपयोग, प्रयोग, सदुपयोग र संरक्षणसँगै समुचित बाँडफाँडको जिम्मेवारी आयोगलाई दिइनेगरि ल्याइएको स्पष्ट पारे । सांसदहरूले कार्यान्वयनका विषयमा उठाएको सवालमा मन्त्री खड्काले कार्यान्वयन पक्षमा गम्भीर रहेको र सबै मिलेर काम गर्नुपर्ने अवस्थामा सधैं रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।

विद्युत ट्रान्समिसन लाइनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले विद्युत विधेयक आउन बाँकी रहेको र सो विषय त्यसैमा समेटिने जानकारी दिए ।