नेपाल पुनर्बीमा कम्पनीले बढायो नाफा


काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमास कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्ष (२०८०/८१) को सोही अवधिसम्म कम्पनीले १ अर्ब ४३ करोड ४७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बिमा शुल्क आर्जन ३३.५५ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २२ अर्ब २८ करोड ३९ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको छ ।

कम्पनीले ३० करोड रुपैयाँ सरकारी ऋणपत्रमा, १९ अर्ब ४३ करोड रुपैयाँ क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपको रूपमा राखेको छ ।

घरजग्गामा भने कम्पनीले कुनै लगानी गरेको छैन । साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ, संस्थागत ऋणपत्र तथा अग्राधिकार सेयरमा १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ लगानी गरिएको छ।

नागरिक लगानी कोष र म्युचुअल फण्डमा ९ करोड ९ लाख रुपैयाँ, अन्य संस्थापक सेयर र सूचीकृत नभएका पब्लिक कम्पनीहरूको सेयरमा १ अर्ब १० करोड रुपैयाँ तथा अन्य शीर्षकमा १५ करोड रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ ।