कालीमाटीको पुल सञ्चालनका लागि लोड टेस्ट गर्दैछौँ, अदालती समस्या नभए सञ्चालन हुन्छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी-टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका हुन् ।

दशकदेखि अलपत्र कालीमाटी–टेकु पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योल छ । निर्माण सम्पन्न भई केही समय सञ्चालनमा आइसकेको उक्त पुलमा प्राविधिक समस्या देखिएको भन्दै बन्द गरिएको थियो । त्यसयता उक्त पुल अलपत्र छ । २०७१ सालमा निर्माण थालिएको पाँच वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

ठेकेदार कम्पनीले उक्त पुलमा कुनै पनि त्रुटि नभएको दाबी गर्दै आएको छ । मन्त्री दाहालले अदालतले गरेको स्टे अर्डर वा अदालतमा भएको कुराहरु नरोकोको खण्डमा पुलको लोड टेस्ट गरेर गरेर सञ्चालनमा ल्यायने दिशामा काम भइरहेको उल्लेख गरे । 

मन्त्री दाहालले सरकारले नेपालमा मनसुन भित्रिसकेको भन्दै त्यसबाट हुनसक्ने बाढी, पहिरोको समस्या हुने ठाउँहरूको पूर्वअध्ययनको कामहरु गर्न सकारात्मक रहेको बताए । विपद्पछिको पुनःनिर्माणको सन्दर्भमा तुलनात्मक रुपले नेपालका मन्त्रालयहरुमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको बताए।

मन्त्री दाहालले स्थानीय सरकारसँगको समन्वयनमा विकास निर्माणका कामहरू पनि गरिरहेको र विपद्को बेलामा संयन्त्र बनाएर काम गर्नेगरी पनि अघि बढ्ने प्रतिवद्धता जनाए ।