काठमाडाैँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बिहीवार भएको एयर इन्डियाको विमान दुर्घटनामा २ सय भन्दा बढीको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
महासचिवले पीडित परिवारहरू, भारतका जनता र सरकारका साथै यो त्रासदीबाट प्रभावित सबै देशका नागरिकहरूप्रति समवेदना व्यक्त गरे। घाइतेहरूको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको गुटेरेसका उपप्रवक्ता फरहान हकले एक वक्तव्यमार्फत बताए ।
लण्डन जाँदै गरेको एयर इण्डियाको उक्त उडानमा २ सय ४२ जना सवार थिए । विमान बिहीवार भारतको पश्चिमी राज्य गुजरातको अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो ।
बोइङ ७८७–८ विमानमा १ सय ६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, सात पोर्चुगाली नागरिक र एक क्यानाडाली नागरिकका साथै १२ जना चालक दलका सदस्य सवार थिए । दुर्घटनाको क्रममा विमान एक मेडिकल कलेजको छात्रावासमा ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्