अन्योलमा धुलिखेल–खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन


काठमाडाैँ । धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । 

करिव तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरी काम सुरू गराएको थियो । सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो । तर निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन ।

प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्ध गरेको छ । तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएको छ । यता सडक डिभिजनले पुनः टेण्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

डिभिजन प्रमुखकाअनुसार निर्माण कार्य सुरू गर्न तयार भएपनि कानूनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो । हालसम्म करिव २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ । केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ ।

१२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो । धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो ।

तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै संकटमा परेको देखिन्छ । स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम बीच यात्रा गर्न बाध्य छन् । सडकको निर्माण कार्य फेरि कहिले सुरू हुन्छ भन्नेमा अझै अनिश्चितता रहेको छ । अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः शुरुवात हुने देखिन्छ ।