मानसरोवर जाने विदेशी पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी  पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद खनालले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहेको बताए ।

चीनको भिसा प्रक्रियाको ढिलाइका कारण तीन हजार विदेशी पर्यटकहरु नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन सरकारसँग आग्रह गरे।

मान सरोवर जानका लागि आएका करिव ३ हजार विदेशी पर्यटकहरु अहिले नेपालका विभिन्न स्थानमा डेढ हप्तादेखि अलपत्र अवस्थामा रहेको बताए ।

उनले भने, ‘यति बेला मानसरोवरको सिजन हो । संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहनुभएको छ । तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशीहरु नेपालका विभिन्न नाका काठमाडौंमा पनि ठूला ठूला होटलहरुमा धेरै पर्यटकहरु हप्तादिन देखि बसिरहेका छन्, ४ दिनमा आउने भिसा १२ दिनसम्म पनि नआएको गुनासो छ, भिसा प्रक्रिया तत्कालै सरलीकृत गर्नुपर्ने देखियो ।’