काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकका लागि तीन महत्वपूर्ण विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ । यो विधेयकले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षालाई कानुनी व्यवस्थाभित्र ल्याउने उद्देश्य राखेको छ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ संसद्मा पेश गर्ने तयारी गर्नुभएको छ। यो विधेयकले औद्योगिक सम्पत्तिको व्यवस्थापन, प्रवर्द्धन र सुरक्षासम्बन्धी कानुनी ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ।
यसका अतिरिक्त, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्मा पेस गर्नुहुने कार्यसूचीमा उल्लेख गरिएको छ।
संघीय संसद्को चालू अधिवेशनअन्तर्गत आजको बैठकमा यी विधेयकमाथि सैद्धान्तिक छलफलको अपेक्षा गरिएको छ। प्रमुख दलहरूका सांसदहरूले विधेयकहरूमाथि धारणा राख्ने र आवश्यक परिमार्जन प्रस्ताव गर्ने तयारीसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्