काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ भरिमा अनुदानित रासायनिक मलको आपूर्ति, मौज्दात र विक्रीसम्बन्धी विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार सो वर्षको लागि कुल ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्ति गर्ने लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो। उक्त परिमाणकै मलको टेण्डरसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमार्फत युरिया, डीएपी र पोटास मल गरी कुल ३ लाख ९३ हजार ८३ मेट्रिक टन मल आपूर्ति गरिएको हो। त्यसमा युरिया २ लाख ५५ हजार ३८९ मेट्रिक टन, डीएपी १ लाख २२ हजार ४२८ मेट्रिक टन र पोटास १५ हजार २६५ मेट्रिक टन रहेको छ।
गत आर्थिक वर्षको मौज्दातसमेत समेट्दा २०८१/८२ को अन्त्यसम्ममा देशभर ७८ हजार ६९६ मेट्रिक टन मल मौज्दातमा रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये युरिया ५६ हजार १२३, डीएपी १५ हजार २५६ र पोटास ७ हजार ३१६ मेट्रिक टन रहेको छ।
उक्त वर्षको अवधिमा किसानहरूलाई कूल ४ लाख ४१ हजार ३१५ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ। युरिया मल २ लाख ७० हजार १६१ मेट्रिक टन, डीएपी १ लाख ५४ हजार ४३९ मेट्रिक टन र पोटास १६ हजार ७१४ मेट्रिक टन वितरण भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
मन्त्रालयले रासायनिक मलको आयात, मौज्दात र वितरण व्यवस्थापन नियमित रूपमा भइरहेको जनाएको छ। आगामी दिनमा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउने तयारीसमेत मन्त्रालयले अघि सारेको छ।
प्रतिक्रिया दिनुहोस्