स्याङजा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–७ ठुलाडीहीमा लुकाइ राखिएको भरुवा बन्दुकसहित एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ६९ वर्षीय हुम बहादुर शाही हुन्, जो ठकुरी भेना उपनामले चिनिन्छन्।
साउन ६ गते सुरेन्द्र रेग्मी नामक व्यक्ति आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्न खाल्टो खन्दै गर्दा अकस्मात् बन्दुकको ठूलो आवाज आएको थियो। सो क्रममा बन्दुकको छर्रा लागेर रेग्मी घाइते भएका थिए। घटनापछि घाइते रेग्मीले दिएको बयान तथा आफन्तको जाहेरीका आधारमा शाहीलाई घटनामा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले उनलाई मिति साउन ८ गते राति ८ः१० बजे तनहुँ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउपछि शाहीले लुकाई राखेको हतियार देखाएअनुसार प्रहरी टोलीले ठुलाडीही क्षेत्रबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका शाहीविरुद्ध स्याङ्जा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग अन्तर्गत १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। हाल घाइते रेग्मीको उपचार ललितपुरस्थित पाटन अस्पतालमा भइरहेको पनि प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्