काठमाडाैँ । आज साउन महिनाको दोस्रो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लागेको छ ।
साउनको सोमवार महादेवको पूजा, आराधना, जल र बेलपत्र चढाईं दर्शन गर्ने र पूजापाठ गर्नेहरु बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पुगेका छन् ।
साउन भगवान शिवसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमवार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ ।
पार्वतीले साउन महिनाभर निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्