एमाले विधान महाधिवेशनः नेता कर्ण थापाको फरक मत मञ्चमै रोकियो


काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मत मञ्चमै प्रस्तुत गर्ने प्रयास रोकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हजमा शनिबारको दोस्रो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णयलगायत विषयमा फरक मत प्रस्तुत गर्न थापा मञ्चतर्फ गएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले फरक मतको प्रस्ताव सबै सदस्यलाई वितरण भइसकेको भन्दै प्रस्तुत गर्ने आवश्यकता नरहेको बताएपछि थापा मञ्चमै बोल्न रोकिएका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार फरक मत वितरण भइसकेकाले समूहगत छलफलमा सहभागी भएर विचार राख्न सकिने व्यवस्था गरिएको हो । उनले भने, “छलफल गर्नबाट वञ्चित गरिएको होइन, तर फरक मत हलमै प्रस्तुत नगरी समूहगत छलफलमा लैजान भनिएको हो । अध्यक्षले त्यही कुरा स्मरण गराउनुभयो र नेता थापाले त्यसलाई स्वीकार गर्नुभयो ।”

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णयप्रति एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसँगै नेता कर्ण थापाले पनि निरन्तर फरक मत राख्दै आएका छन् ।