काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमै गुणस्तरीय रोजगारी सिर्जना गरेर युवापलायन रोक्नु आजको काँग्रेसको प्रमुख सपना हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा आधारभूत पूर्वाधार निर्माणसँगै धेरै परिवर्तन भए पनि त्यससँगै जनताको आकांक्षा पनि बढेको बताएका हुन् । उनले भने, “देशभरी विकास भएको छ, थुप्रै कुराहरु बदलिएका छन्। तर यससँगै मानिसको चाहना र आकांक्षा बढ्नु स्वाभाविक हो।”
थापाले नेपालबाट ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालमै आकर्षक र राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
हालै कोरिया भ्रमणका क्रममा उनले त्यहाँ नेपाली कामदारले मासिक दुई लाख रुपैयाँसम्म बचत गर्न सक्ने देखेको अनुभव सुनाउँदै नेपालमै त्यस स्तरको आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्ने बताए।
उनका अनुसार अहिले पनि ५० हजारभन्दा बढी युवाले गुणस्तरीय रोजगारी पाउन सकेका छैनन्। लाखौँ युवालाई साधारण नभई राम्रो आम्दानी हुने रोजगारी उपलब्ध गराउनुपर्ने थापाको भनाइ थियो।
उनले थपे, “आजको नेपाली काँग्रेसले देख्ने सपना भनेको आफ्नै देशमा बसेर युवाले राम्रो आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नु हो। सरकारमा बस्ने वा नबस्ने कुरा गौण हो, युवाका लागि रोजगारी सिर्जना गर्नु अहिले मुख्य कुरा हो।”
विपी कोइरालाले नेपालीलाई गरिबीबाट मुक्त गर्ने सपना देखेको स्मरण गर्दै थापाले आजको काँग्रेसले युवालाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने लक्ष्य लिनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्