काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन भइरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित तथ्यांक छिट्टै खोज्ने तथा विश्लेषण गर्ने काममा एआई उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले एआई प्रयोगले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन सहयोग पुग्ने उल्लेख गरे।
नेपालको सन्दर्भमा एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्नेमा दुईमत नभएको बताउँदै सभामुख घिमिरेले जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन र नीतिगत निर्णयको प्रभाव विश्लेषणलाई यसले सहज बनाउन सक्ने धारणा राखे। तर, गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक रहेकोमा उनले जोड दिए।
दैनिक जीवनमा एआईले ल्याउने सकारात्मक पक्षबारे प्रष्ट पार्दै उहाँले नियमित स्वास्थ्य परीक्षणमा भिडियोमार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दुरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीमार्फत जोखिम कम गर्न सकिने उदाहरण प्रस्तुत गरे।
तर, एआईसँगै आउने बेफाइदाबारे सचेत गराउँदै सभामुख घिमिरेले ‘डीपफेक’ प्रविधिबाट गलत सूचना फैलने, साइबर ठगी बढ्ने, संवेदनशील डेटा चोरी हुने र मानव श्रम विस्थापित भएर बेरोजगारी बढ्ने जस्ता समस्या देखिएको बताए। त्यसैले यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्