काठमाडाैँ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी क्रमशः बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ५० करोड रूपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ ।
राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको वैदेशिक लगानी सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा उक्त वर्ष ३६.१ प्रतिशतले वैदेशिक लगानी वृद्धि भएको हो ।
सो वर्ष वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक ६ अर्ब रूपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो । त्यसअघिको वर्ष हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा १८ अर्ब ६० करोड रूपैयाँसम्म वैदेशिक लगानी भित्रिएको थियो ।
नेपालले हालसम्म ६० भन्दा बढी मुलुकबाट वैदेशिक लगानी आकर्षित गर्दै आएको छ । सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको देखिन्छ ।
विदेशी लगानीमध्ये सबैभन्दा धेरै आउने देश भारत रहेको छ । हाल भारतको मात्रै १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ, जुन ३२.२ प्रतिशत बराबर हो ।
त्यस्तै चीनबाट ३३ अर्ब ८२ करोड रुपैयाँ अर्थात १०.२ प्रतिशत, सिंगापुरबाट २७ अर्ब ६६ करोड अर्थात् ८.३ प्रतिशत, आयरल्याण्डबाट २३ अर्ब १४ करोड अर्थात् ७ प्रतिशत, दक्षिण कोरियाबाट २० अर्ब १८ करोड अर्थात ६.१ प्रतिशत तथा अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड अर्थात ५.९ प्रतिशत लगानी प्राप्त भएको छ ।
क्षेत्रगत रूपमा वैदेशिक लगानी सबैभन्दा बढी उद्योग क्षेत्रमा भएको छ । यो क्षेत्रको हिस्सा सबैभन्दा धेरै ५९.४ प्रतिशत छ भने सेवा क्षेत्रमा ४०.५ प्रतिशत लगानी पुगेको छ ।
सर्वेक्षण अवधिसम्म देशमा कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी कायम छ । राष्ट्र बैंकले २०१२/१३ देखि नियमित रूपमा वैदेशिक लगानीको सर्वेक्षण गर्दै आएको छ ।
दक्षिण एसियाको अवस्था के छ ?
दक्षिण एसियामा गएको वर्षको तुलनामा वैदेशिक प्रत्यक्ष लगानी ठूलो मात्रामा घटेको छ । सन् २०२४ मा दक्षिण एशियामा कुल वैदेशिक लगानी ३४.६ अर्ब अमेरिकी डलर मात्र भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.८ प्रतिशत कम हो ।
सबैभन्दा ठूलो गिरावट भारतमा देखिएको छ । भारतमा वैदेशिक लगानी २०२३ मा २८.१ अर्ब डलरबाट घटेर २७.६ अर्ब डलरमा झरेको छ, जुन ४३.१ प्रतिशत कमी हो । तर नेपालले भने लगानी आकर्षणमा सुधार देखाएको छ । नेपालमा सन् २०२४ मा ६० करोड डलर वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशत वृद्धि हो ।
यसैगरी पाकिस्तानमा त्यस्तो लगानी ४०.१ प्रतिशतले बढेर २.६ अर्ब डलर पुगेको छ भने माल्दिभ्समा पनि ४.८ प्रतिशत वृद्धि भएको छ । यस्तै, बंगलादेश, भूटान र श्रीलंकामा लगानी घटेको छ ।
प्रतिक्रिया दिनुहोस्