निशानामा शीर्ष नेताका घर: खुमलटारमा तोडफोड, बुढानिलकण्ठमा चर्काे नाराबाजी


काठमाडौं । जेनजी पुस्ताको आन्दोलन प्रहरीको हस्तक्षेप बढेपछि बानेश्वरबाटै उग्र रुप लिएको थिए । आन्दोलनको पहिलो दिन सोमबार काठमाडौंमा १७ र इटहरीमा २ गरि १९ जनाले ज्यान गुमाएपछि मंगलबार बिहानैदेखि सडकमा युवाहरुको बाक्लो उपस्थिती छ । सरकारले आफ्नै नागरिकलाई निशाना बनाएको भन्दै उनीहरु आन्दोलन अझै चर्काउने मुडमा देखिन्छन् ।

प्रदर्शनकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटार निवासमा चर्काे नाराबाजी र तोडफोड गरेका छन् । दाहालनिवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेका प्रदर्शनकारी प्रचण्डको निवास गेट अगाडि उभिएर ढुंगामुढा गरेका हुन् । सुरक्षा निकायले प्रदर्शनकारीलाई सम्झाउने तथा तोडफोड नगर्न भएको प्रयास केवल प्रयासमा सिमित भइरहेको छ ।

त्यस्तै, देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा प्रदर्शनकारी चर्काे नाराबाजी गरिरहेका छन् । देउवा चोक आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीसँग आमने सामने उभिएर प्रदर्शनकारीको नाराबाजी चलिरहेको छ । उद्यपी हालसम्म देउवानिवासमा तोडफोड भने भएको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घर रहेको भक्तपुरको बालकोटमा पनि युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा प्रदर्शन गर्न पुगेको युवाहरुले तोडफोड तथा आगजनी गरेका छन् ।

त्यस्तै, सोमबार साझ नै रुपन्देहीमा पूर्वगृहमन्त्री बालकृष्ण खाडको घरमा प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा पनि सोमबार साझ जेन जी आक्रोशित युवाहरुले तोडफोड गरेका छन् । भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध सडकमा उत्रिएका युवाहरुले झापास्थित ओलीको घरमा ढुंगामुढा गरेका हुन् ।