काठमाडाैँ । जेन्जी आन्दोलनका क्रममा देशभर निजी क्षेत्रका उद्योग, प्रतिष्ठान र व्यक्तिगत सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएका घटनाप्रति निजी क्षेत्रले गम्भीर चासो व्यक्त गर्दै आगामी दिनमा यस्ता आक्रमण नहुने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाले उद्योगी–व्यवसायीका उद्योग, कार्यालय र आवासीय स्थानमा समेत आक्रमण भएको भन्दै कडा शब्दमा भत्र्सना गरेको छ। महासंघका अनुसार अर्बौं रुपैयाँ बराबरको क्षति भइसकेको र यसको विस्तृत विवरण संकलन भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार यसले राजश्व र कुल गार्हस्थ्य उत्पादन दुवैमा गम्भीर असर गर्ने देखिएको छ।
“निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या आउँछ र राजश्वमा समेत नकारात्मक प्रभाव पर्छ। त्यसैले सर्वप्रथम व्यवसायीलाई सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ,”महासंघले विज्ञप्तिमा भनेको छ । साथै, निषेधाज्ञा वा कर्फ्युका बेलामा औषधि, खाद्यान्न, दुध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज बनाउन सुरक्षा निकायले सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, नेपाल उद्योग परिसंघले निर्दोष नागरिकको ज्यान जाने हिंसात्मक गतिविधिको निन्दा गर्दै संयम अपनाउन सबैलाई अपिल गरेको छ। परिसंघले युवाको ऊर्जा, रचनात्मकता र आकांक्षामार्फत मात्र मुलुकको भविष्य उज्यालो बन्ने भन्दै हिंसाबाट समाधान खोज्ने प्रयास राष्ट्रकै लागि क्षतिको कारण हुने टिप्पणी गरेको छ।
आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार, नक्सालस्थित हिल्टन होटल, एनसेलको मुख्यालय, उद्योगी–व्यवसायीका निजी निवास तथा सवारीसाधनमाथि तोडफोड र आगजनी भएको थियो।
भाटभटेनी सुपरमार्केटका १२ शाखामध्ये आधा दर्जनभन्दा बढीमा क्षति पुगेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनेको छ, “दुःखद क्षण गुज्रिए पनि आशा हराएको छैन। तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ।”
त्यस्तै, उद्योगी शेखर र सञ्जय गोल्छाको निवासमा तोडफोड र आगजनी, बसन्त चौधरीको घरमा क्षति, उपेन्द्र महतोको आवासमा लुटपाट, साथै टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरुमसमेत जलाइएका थिए।
निजी क्षेत्रका अनुसार मुलुकको कुल अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान निजी क्षेत्रकै छ। उनीहरूले सुरक्षित वातावरण सिर्जना गरी उद्यमीलाई आत्मविश्वास दिलाउन सके मात्र मुलुकको अर्थतन्त्र पुनः गतिशील बन्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्