बाटोमै लुटिए भारतबाट घर फर्किएका यात्रुहरु


काठमाडौं । भारतबाट नेपाल फर्किएका यात्रुहरु बिच बाटोमै लुटिएका छन् । भारतको उत्तराखण्ड टेहरीगढवालबाट घर फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै लुटिएका हुन् ।

पूर्वपश्चिम राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा तीन जना सेतो रङको स्कुटरमा आएका अपरिचित व्यक्तिले हतियार देखाई कालिकोट जिल्ला पलाता गाउँपालिका–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई लुटेका हुन् ।

“सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडेका थियौँ”, कलमबहादुरले भने, “तीन जना स्कुटरमा आएका अपरिचित व्यक्तिले खुकुरी देखाउँदै मेरो मोबाइल खोसे । त्यसपछि मेरो साथमा रहेको १४ हजार भारु पनि खोसे । राजमार्गमा अर्को यात्रु चढेको मोटरसाइकल नजिकै आउन थालेको देखेपछि भागे ।” कलम, नैनबहादुरसँगै सिंहराज खत्री, कलबहादुर खत्री र अभिराज धामी पनि थिए ।

दुई जनालाई लुटेराहरूले लुटे पनि तीन जना भने लुटिनबाट जोगिएका छन् । “भारतमा मजदुरीका लागि दुई महिनाअघि मात्र गएका हौँ”, कलमबहादुरले भन्नुभयो, “भारतमा पनि गतिलो मजदुरीको काम पाइएन, काम पाइए पनि कहिले बाढी, कहिले वर्षाले काम गर्न नपाइएपछि फर्केका हौँ, बिच बाटोमै लुटिएपछि बिचल्लीमा परेका छौँ ।”

लुटपाट भएकोबारे पिडीतले जानकारी गराएपछि हुलियाको आधारमा खोजतलास भइरहको बताएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।