कृषि विभागको आग्रह: नाशवान् कृषिजन्य उत्पादनको निर्वाध ढुवानी सुनिश्चित गर्न सहयोग गर्नुस्


काठमाडौँ । देशभर विद्यमान असहज र विषम परिस्थितिले कृषिजन्य उत्पादनहरूको ढुवानीमा अवरोध पुगेको भन्दै कृषि विभागले सम्बद्ध सबै निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा तरकारी, फलफूल, बीउबिजनासहितका नाशवान वस्तुहरू समयमा गन्तव्यसम्म पुर्‍याउन नसकिए देशको खाद्य सुरक्षामै असर पर्न सक्ने भएकाले ढुवानीलाई निर्वाध बनाउन आग्रह गरिएको छ।

विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलले विज्ञप्ति जारी गर्दै किसान, कृषि उद्यमी र व्यवसायीहरूको हितलाई मध्यनजर गरी मुलुकभर कृषि उत्पादनको सहज ओसारपसार सुनिश्चित गर्न सहयोग गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।

सन्जेलले समयमै गन्तव्यसम्म नपुग्ने खण्डमा उत्पादन नष्ट हुने र यसले किसानलाई ठूलो क्षति पु‍र्‍याउनुका साथै समग्र खाद्य सुरक्षामा जोखिम उत्पन्न गर्ने चेतावनी पनि दिएका छन्।