नाडा पदाधिकारीले भेटे अर्थमन्त्री, अटोमोबाइल व्यवसाय र आर्थिक चुनौतीबारे २२ बुँदे सुझाव पेस


काठमाडाैँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गर्दै देशको हालको जटिल आर्थिक अवस्था र अटोमोबाइल व्यवसायका चुनौतीबारे विस्तृत छलफल गरेको छ।

भेटघाटका क्रममा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षासँगै देशमा शान्ति र अमनचयन कायम गर्नु सरकारको पहिलो दायित्व भएको बताए।

उनले व्यवसायीहरूको मनोबल बढाउने किसिमका नीतिहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै तोडफोडबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे। साथै हालै लागू गरिएको ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०८२’ का कारण सवारीसाधनको मूल्य बढ्ने स्थिति सिर्जना भएको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रमा मात्रै भन्सार राजस्वमा २७ प्रतिशत योगदान रहेको स्मरण गराए।

उनले लगानीकर्ताहरू नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने वातावरण अझै बनेको छैन भन्दै, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखे।

यस क्रममा नाडाले २२ बुँदे सुझाव पेश गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाबाट पेट्रोल र डिजेल सवारीसाधन किन्न हायर पर्चेज ऋण प्रवाह गर्दा हालको ६० प्रतिशत ‘लोन–टु–भ्यालु रेसियो’ बढाएर ८० प्रतिशत पुर्‍याउनुपर्ने माग पनि समावेश गरिएको थियो।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रँदा तातोपानी भन्सारमार्ग अवरुद्ध भएको समस्याबारे छिट्टै समाधान हुने जानकारी दिँदै व्यवसायीका लागि प्रोत्साहन प्याकेज ल्याउने आश्वासन दिए। साथै, प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताए।

अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका मागलाई गम्भीरतापूर्वक अध्ययन गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनबाट भएको क्षति र नोक्सानीको तथ्यांक संकलन गरी उचित कदम चालिने आश्वासन दिए।

उनले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध गराउन सकिने थप सुविधा, कर सम्बन्धी सहजता र अन्य आवश्यक नीतिगत पहलबारे पनि सरकार अघि बढ्ने बताए। मन्त्री खनालले आन्दोलनका कारण अटोमोवाइल क्षेत्रमा ठूलो क्षति पुगेको स्वीकार गर्दै व्यवसायीहरूसँग निरन्तर सम्पर्कमा रहने प्रतिवद्धता व्यक्त गरे।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, महासचिव विक्रमसिंह सानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, कार्यसमिति सदस्यद्वय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति लगायतको सहभागिता थियो।