स्वास्थ्य मन्त्रालय र सर्वोच्च अदालतको भवन क्षतिग्रस्त, तत्काल प्रयोग अयोग्य: इन्जिनियर्स एसाेसिएसन


काठमाडाैँ । नेपाल इन्जिनियर्स एसाेसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोगयोग्य नभएको अवस्था देखिएको जनाएको छ।

एसाेसिएसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार जेन्जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण मन्त्रालयको भवन तत्काल प्रयोगमा ल्याउन नसक्ने अवस्था देखिएको प्रारम्भिक निरीक्षणले पुष्टि गरेको हो।

शनिबार मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै अध्यक्ष बरालले सर्वोच्च अदालतको भवनमा पनि क्षति पुगेको जानकारी दिए। उनका अनुसार अदालतको उत्तरतर्फको भाग पूर्ण रूपमा प्रयोग गर्न अयोग्य देखिएको छ भने दक्षिणतर्फको भाग भने केही प्रयोगयोग्य अवस्थामा रहेको निरीक्षणबाट थाहा भएको छ।

अध्यक्ष बरालले भने, “स्वास्थ्य मन्त्रालयको भवनको पर्खालमा भने ठूलो क्षति नभए पनि अन्य संरचना टोटल्ली क्षति भएका छन्। त्यसैले हाललाई प्रयोग गर्न अत्यन्त जोखिमपूर्ण छ। सर्वोच्च अदालतमा पनि उत्तरपट्टि बढी जोखिम छ, तर दक्षिणपट्टि भने केही सहज अवस्थामा देखिन्छ।”

उनले सिंहदरबारलगायत अन्य सरकारी भवनमा समेत फरक–फरक स्तरको क्षति पुगेको जनाउँदै लामो समयसम्म आगो लागेको ठाउँमा बढी क्षति भएको बताए।

एसाेसिएसनले सरकारसँग समन्वय गरेर जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सरकारी तथा निजी भवनहरुको निरीक्षणलाई तीव्रता दिइरहेको जनाएको छ। सातै प्रदेश कार्यालयमार्फत निरन्तर रुपमा निरीक्षण भइरहेको अध्यक्ष बरालले जानकारी दिए ।