ऊर्जामन्त्री घिसिङकाे राेजाइमा परेका प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाल को हुन् ?


काठमाडौँ । ऊर्जामन्त्री नियुक्त भए लगत्तै कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ठाउँ खाली गर्न सन्देश पठाएका थिए ।

जेनजी विद्रोहपछि मन्त्री बनेका घिसिङले अहिलेको भावनाअनुसार अगाडि बढ्नुपर्ने भएकाले ठाउँ खाली गर्दा राम्रो आसयको सन्देश पठाएका थिए ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । घिसिङलाई केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

जेनजी विद्रोहले ओली नेतृत्वको सरकार अपदस्थ गरेपछि घिसिङ ऊर्जामन्त्री बनेर आए । माओवादी नेतृत्वको सरकार र ओली नेतृत्वको सरकार हुँदा यी दुबैलाई कार्यकारी निर्देशकको रुपमा पटकपटक ‘भिडाएका’ थिए ।

मुद्दा अदालतसमेत पुगेको थियो । घिसिङ ऊर्जामन्त्री बनेर आएपछि शाक्यलाई ठाउँ खाली गर्न सन्देश पठाएपछि के हुन्छ भन्ने कौतुहुलता थियो ।

कुलमान किन चाहदैन थिए शाक्यको निरन्तरता

प्राधिकरणभित्र दुबै जना (घिसिङ र शाक्य) मिलेर काम गरिदिए हुन्थ्यो भन्ने समूह ठुलो थियो । प्राविधिक, व्यवस्थापन र राजनीतिमा चलाख घिसिङले मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।

काबिल इन्जिनियरको छवी बनाएका शाक्य प्राधिकरणमा हुँदा दुबैलाई फाँइदा हुने अपेक्षा देखिन्थ्यो तर स्रोतहरूका अनुसार मन्त्री घिसिङ भने शाक्यले छोडिदिए हुन्थ्यो भन्ने पक्षमा थिए ।

शाक्यले भने मिलेर काम गर्न खोेजेको सन्देश दिएपछि ऊर्जामन्त्री घिसिङले मन्त्रिपरिषदमा प्रस्ताव लगेर आज हटाइदिएका छन् ।

प्राधिकरण आफैमा ठुलो स्रोत भएको संस्था हो । प्राधिकरण बढी स्रोतसम्पन्न भएकाले सधै राजनीतिक दलका नेताहरूको आखामा पर्‍याे ।

आफैमा ‘एउटा सत्ता’ जस्तो बनेको नेपाल विद्युत प्राधिकरणको आर्थिक, राजनीतिक र प्राविधिक पाटोबारे सबैभन्दा बढी कोही जानकार छन् भने त्यो घिसिङनै हुन् ।

घिसिङ आफै राजनीतिमा होमिएका छन् जसका कारण प्राधिकरण आफ्नो प्रतिस्प्रधिको हातमा होस् भन्ने चाहदैनन् । समकक्षीजस्तै भएकाले पनि घिसिङको भनाई अनुसार शाक्य न चल्न सक्थे ।

स्रोत परिचालनदेखि सबैपक्ष त्यतिबेला मात्रै सम्भव छ जतिबेला आफू अनुकुलको ‘एस म्यान’ कार्यकारी निर्देशक हुन्छ । घिसिङलाई प्राधिकरण चलाउन एस म्यान भए पुग्ने अवस्था छ किन कि उनी हरेक विषयमा जानकारी राख्दछन् ।

सिलवाल कसरी रोजाइमा परे ?

शाक्यलाई हटाएको अवस्थामा तीन जना सम्भावित कार्यकारी निर्देशकको चर्चा थियो । मनोज सिलवाल, प्रदीप थिके र बिमल गुरुङलाई सम्भावित कार्यकारी निर्देशकको रुपमा हेरिएको थियो ।

सिलवाल र थिके प्राधिकरणबाट सेवा निवृत्त भएको १ वर्ष मात्रै पुगेको थियो । बिमल गुरुङ प्राधिकरणका ११ औँ तहका कर्मचारी हुन् जो दुधकोशी जलविद्युत् आयोजनाको सिइओ हुँदा यसअघि ऊर्जामन्त्री दीपक खड्काको विरुद्ध र घिसिङको पक्षमा फेसबुकमा लेखेपछि कारबाही स्वरूप केन्द्रमा तानिएका थिए ।

सिलवाल वतरण तथा ग्राहक निर्देशनालयको जिम्वेवारी सम्हाल्दै गर्दा उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए । थिके योजना अनुगमन निर्देशनालयको जिम्मेवारी सम्हालिरहेका बेला उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए ।

घिसिङसँग प्राधिकरणमा निकट रहेर काम गरेका सिलवाललाई कार्यकारी निर्देशक बनाइएको छ । दुबैजना लोडसेडिङ् अन्त्य गर्न मिलेर काम गरेको र निकट साथीको रुपमा समेत रहेका थिए ।