स्याङ्जाबाट फरार रहेका दुई कैदी पक्राउ


काठमाडाैँ । करिब एक महिनादेखि फरार रहेका दुई जना कैदीहरुलाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा पठाएको छ। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते फरार भएका उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले असोज १९ गते पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–९ बस्ने ३५ वर्षीय मदन माझी छन्, जसलाई जबरजस्ती करणीको मुद्दामा काठमाडौंस्थित केन्द्रीय कार्यालय जगन्नाथदेवल कारागारमा सजाय भोगिरहेको अवस्थामा फरार भएका थिए।

त्यस्तै, स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–६ का १९ वर्षीय अर्का कैदी (जसको नाम गोप्य राखिएको) समेत जबरजस्ती करणी मुद्दामा पोखरास्थित बाल सुधार गृहबाट फरार भएका थिए।

उनीहरूलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै पुनः जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ।