काठमाडाैँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरआई मेसिन खरिद प्रक्रियामा गैरकानूनी लाभ लिइ आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगिता भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अनुसार, उक्त प्रतिष्ठानले एमआरआई मेसिन खरिदका लागि Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेको थियो। तर खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ विपरीत गरिएको देखिएको छ।
अधिकारिहरुले आवश्यकताको पहिचान नगरी, बजेट स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेर खरिद प्रक्रिया अगाडि बढाइएको पाइएको छ। निश्चित कम्पनीसँग मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरी अन्य कम्पनीको सहभागीता नदिई दररेट माग गरी लागत अनुमान तयार गराइएको थियो।
प्राविधिक मूल्याङ्कनमा पनि CPU clock-pulse rate ≥4.0 GHz हुनुपर्नेमा Lumbini Healthcare Pvt. Ltd. ले 2.1 GHz प्रस्ताव गरेपछि Minor Deviation भनी स्वीकृत गरिएको थियो। यसरी गलत मूल्याङ्कनको आधारमा कम्पनीले ११ करोड ४५ लाख रुपैयाँमा सम्झौता पाएको बताइएको छ।
अख्तियारले यस सम्बन्धमा थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्