काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रस्ताव गरेका छन्। उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे ।
उनले राप्रपालाई सिमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
उनले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले काँग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताए । पार्टीलाई विभाजित नभई एकतावद्ध बनाउन समेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको उनकाे भनाइ छ। उनले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्ने समेत बताए ।
राप्रपाको महाधिवेशन यही मंसिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्