गजुरी गाउँपालिकामा १ करोड ९३ लाखको फोहर व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढ्दै


धादिङ । गजुरी गाउँपालिकाले जिल्लाकै पहिलो फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अघि बढाएको छ। गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार, अघिल्लो सरकारको पालामा फोहर व्यवस्थापनका विषयमा कुनै ठोस निर्णय नभएको अवस्थामा हालको सरकारले यस क्षेत्रमा ठोस कदम चालेको हो।

२०७९ सालको निर्वाचनपछि जिम्मेवारी सम्हालेको गाउँपालिकाको श्रेष्ठको नेतृत्वले अघिल्लो वर्ष वडा नं. ६ चापा भञ्ज्याङ सालघारीमा जग्गा खरिद गरी ५० लाख रुपैयाँको लागतमा फोहर व्यवस्थापन केन्द्रको निर्माण कार्य सुरु गरेको छ। यसै क्रममा संघीय सरकारबाट यस वर्ष ८९ लाख र गाउँपालिकाबाट ८९ लाख गरी १ करोड ७८ लाख रकम विनियोजन गरिएको छ। थप १५ लाख रुपैयाँ गाउँपालिकाले नै थप गरेपछि कुल बजेट १ करोड ९३ लाख पुगेको र हाल सो योजना टेन्डर प्रक्रियामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार गजुरी गाउँपालिकाले सञ्चालन गर्न लागेको यो केन्द्र जिल्लाकै पहिलो फोहर व्यवस्थापन केन्द्रका रूपमा रहेको छ, जसले गाउँपालिकाको फोहर व्यवस्थापनमा दीर्घकालीन समाधान ल्याउने अपेक्षा गरिएको छ।

तर हालै सो विषयलाई लिएर सामाजिक सञ्जालमा केही भ्रमपूर्ण प्रचार भइरहेको भन्दै अध्यक्ष श्रेष्ठले त्यसमा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले दलगत सहमतिको माध्यमबाट फोहर व्यवस्थापनको स्थायी समाधान खोज्ने प्रयास जारी रहेको भन्दै, राजनीतिक लाभका लागि सस्तो प्रचारप्रसारमा नलाग्न सबैमा अनुरोध गरेका छन्।