काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका छन् ।
आज बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सर्वपक्षीय अन्तरिम सरकारको माग गरेका हुन् ।
उनले भने,“सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ । सरकारमा कार्कीसहितका मन्त्रीहरूलाई कसले ल्यायो । रहस्यमय तरिकाले सरकार गठन गरियो ? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ ।”
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि दाबी गरे ।
महासचिव विप्लवले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे ।
उनले भने,“नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो । जेनजीले नै संसद र सरकारविरुद्ध नारा लगाए । हामीले पनि साथ दियौं । तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ । यदि जेनजीको मागहरु पुरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहको रुपमा अघि बढ्नसक्छ ।”
संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरू सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने उनको भनाई थियो ।
महासचिव विप्लवले जेनजी आन्दोलनका मागहरूप्रति राजनीतिक दल गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए ।




प्रतिक्रिया दिनुहोस्