काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्। शुक्रबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बसेको उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेका गोपालप्रसाद भट्टराई लगायत नेताहरू सहभागी थिए।
अध्यक्ष दाहालले पछिल्ला दिनमा राष्ट्रिय सभाअन्तर्गतका समितिहरू निरन्तर सञ्चालन गर्ने तयारी अघि बढाइरहेका छन्। उनले सरकार र राजनीतिक दलहरूसँग अधिवेशन आह्वान र संसद सञ्चालनका विषयमा पनि पहल गर्दै आएका छन्।
संविधानविद्हरूका अनुसार, राष्ट्रिय सभाका समितिहरूले निरन्तर बैठक सञ्चालन गर्न सके भने संघीय संसद प्रतिनिधि सभाको निर्वाचन र अन्य राजनीतिक प्रक्रियामा सहज र शान्तिपूर्ण वातावरण निर्माण गर्न सहयोग पुग्नेछ।
राष्ट्रिय सभामा दर्ता भएका तथा विचाराधीन विधेयकलाई अगाडि बढाउन समितिहरू सक्रिय हुन आवश्यक रहेको अध्यक्ष दाहालले बताए ।
गत भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलनपछि संघीय संसदको अधिवेशन अन्त्य भएको थियो। आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड भएपछि बैठक बस्नका लागि स्थानको समस्या आएको थियो।
तर अहिले संघीय संसद सचिवालयले सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक सञ्चालन गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले निकट भविष्यमा समितिहरूलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएका छन्।




प्रतिक्रिया दिनुहोस्