काठमाडाैँ । त्रिभूवन विश्वविद्यालय परिसरमा निर्माण कार्य अवरुद्ध गर्दै व्यवसायी र श्रमिकमाथि धम्क्याउने कार्य भएको भन्दै काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघले सुरक्षाको माग गरेको छ ।
कीर्तिपुर नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेका निर्माण कार्यमा केही विद्यार्थी समूहले हस्तक्षेप गरी निर्माण स्थलमा हुलहुज्जत गरेर व्यवसायी, श्रमिकलाई धम्काएपछि संघले सुरक्षाको माग गरेको हो ।
संघद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले निर्माण स्थलमा प्रवेश गरी निर्माण सामग्री फाल्ने, निर्माण व्यवसायी र श्रमिकहरूलाई शारीरिक तथा मानसिक रूपमा धम्क्याउने कार्य बन्द गर्न भनेको छ ।
विज्ञप्तिमा त्रिभूवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको बोलपत्र प्रक्रियामार्फत “शुभ कामना निर्माण सेवा प्रा.लि.” निर्माण कम्पनीलाई भवन निर्माण कार्यको जिम्मा दिइएको उल्लेख गरिएको छ । संघले सो सम्झौताअनुसार कम्पनीले निर्माण कार्य अघि बढाइरहेको बेला विद्यार्थी समूहको हस्तक्षेपले निर्माण वातावरण विथोलिएको बताएको छ ।
संघका महासचिव पञ्च बहादुर तामाङ (विजय) द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरूको सुरक्षाको व्यवस्था गर्न संवद्ध निकायलाई आग्रह गरिएको छ ।
साथै, निर्माण कार्य अवरुद्ध गर्ने, धम्की दिने तथा विकास विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न संघले जोडदार माग गरेको छ ।
संघले निर्माण कार्य कानूनअनुसार र सम्बन्धित निकायसँग समन्वयमा अघि बढाइएको उल्लेख गर्दै वातावरण सहज बनाई चाँडोभन्दा चाँडो निर्माण कार्य पुनः सुचारु गर्न विश्वविद्यालय प्रशासन र सरोकारवाला पक्षलाई अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्