विद्यार्थीका लागि टेलिकमकाे ‘एनटी फाइबर विद्यार्थी अफर’, ४ हजार ९९९ रूपैयाँमा एक वर्षका लागि इन्टरनेट सेवा


काठमाडाैँ । नेपाल टेलिकमले विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ ।

टेलिकमले वि.सं. २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न याे अफर सञ्चालनमा ल्याएको जनाएकाे छ ।

आज नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरेका छन् ।

कार्यक्रमम मन्त्री खरेलले आर्थिकरूपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गरे ।

उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशनसमेत दिएका छन् ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित ४ हजार ९९९ रूपैयाँ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ । जसमा साविक बमोजिमको जडान शुल्क ५०० रूपैयाँ थप लाग्नेछ । अफरको साथमा विद्यार्थीले १ थान ड्रअल ब्याण्ड सिपिइ र बढीमा १०० मिटर ड्रप फाइबर  निःशुल्क प्राप्त गर्न सक्ने जनाइएकाे । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमाण्ड पाेर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।

यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटिटिएच प्याकेजको समयावधि समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने टेलिकमले जनाएकाे छ । यहि सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरू मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्ने उल्लेख गरिएकाे छ ।

टेलिकमका अनुसार यस अफर अन्तर्गत एफटिटिएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेजकाे समयावधि समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सिपिइ फिर्ता गर्नुपर्नेछ ।