मधेश सरकारमा सहभागी मन्त्री बिच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेश सरकारमा सहभागी आफ्नी सांसदलाई तत्काल मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन उल्लंघनको आरोप लगाउँदै कारवाहीको चेतावनीसमेत दिएका छन् ।

एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि राप्रपा सांसद कन्चन बिच्छा मन्त्री बनेकी थिइन् । तर, अध्यक्ष लिङ्देनले उक्त नियुक्तिलाई पार्टीको औपचारिक निर्णयविपरीत भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

अध्यक्ष लिङ्देनले जारी गरेको वक्तव्यमा भनिएको छ, “मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो ।”

राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा विधान बमोजिम कारवाही गरिने राप्रपाले जनाएको छ ।

यससँगै मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारमा राप्रपाको सहभागिता अल्पकालीन हुने देखिएको छ । अब कन्चन बिच्छा पार्टीको निर्देशन पालना गर्छिन् वा असहमति जनाउँछिन् भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।