जेनजी पुस्ताको आन्दोलनलाई स्वार्थपरक प्रवृत्तिका साथ प्रयोग गरिएकाे छः नेतृ झाँक्री


काठमाडौँ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनलाई स्वार्थपरक प्रवृत्तिका साथ प्रयोग भइरहेको बताएका छन्।

सोमबार ‘घर फर्क’ राष्ट्रिय अभियान कार्यक्रममार्फत एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश भए पनि त्यसमा स्वार्थमा आधारित व्यक्तिहरू सक्रिय भएको उल्लेख गरिन्।

उनले भनिन्, “आन्दोलनका प्रारम्भिक उद्देश्य सामान्य थिए, तर त्यसमा सामेल केही तत्त्वहरूले व्यक्तिगत लाभका लागि आफूलाई दाबी गर्दै एमालेविरुद्ध काम गर्न थालेका छन्।”

झाँक्रीका अनुसार जेनजी आन्दोलनका स्टक होल्डरहरूले नजानिँदो ढङ्गले आफूलाई दाबी गरेका छन्। उनका अनुसार चाहे ती माओवादी, नेपाली काँग्रेसको केही भाग, राप्रपा, रास्वपा वा अन्य स्वतन्त्र अभियानका पक्षधर हुन्, अहिले समाजमा उनीहरूले एमालेविरुद्ध भूमिका लिइरहेका छन्। उनले थपिन्, “जेनजी आन्दोलनमा रोटी सेक्नेहरू आज नेकपा एमालेका विरुद्धमा छन्।”

नेतृ झाँक्रीले वर्तमान सामाजिक परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै क्रान्तिकारी शक्तिहरू अब अल्मलाएर बस्न नहुने बताइन् र सबैलाई सार्वभौमिकता, सार्वजनिक सम्पत्ति र नागरिक जीवनको संरक्षणका लागि एमालेमा फर्किन आह्वान गरिन्।